प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमालेको निर्णय

1871
views

काठमाण्डौ, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । एमाले स्थायी समितिको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । स्थायी समितिको बैठकमा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले अपनाउने रणनीतिबारे छलफल भएको थियो । नेताहरुले त्यससम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।‘बैठकमा वामपन्थी, प्रगतिशील र देशभक्त पार्टीहरुसँग एकता गर्ने निर्णय भएको छ,’ सचिव भट्टराईले भने, ‘त्यस्ता पार्टीहरुसँग तालमेल गरेर बहुमत ल्याउने रणनीति तयार गरिएको छ ।’ आगामी मंसिरमा हुने चुनावमा बहुमत ल्याउने गरी व्यापक तयारी गर्ने निर्णय पनि भएको सचिव भट्टराईले जानकारी दिए ।