प्रदेश र संघीय चुनावपछि संविधान संशोधनः प्रम

1808
views

नवलपरासी, १६, असोज । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकजुट भई प्रदेश र संघीय निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो ।  प्रधानमन्त्री देउवाले प्रदेश र संघीय निर्वाचनले संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
आज रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह समेत गर्नुभयो ।उहाँले काँग्रेसको नेतृत्वमा मात्र मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसले मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउनेमा काँग्रेस लागेको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा काँग्रेस लागि पर्ने बताउनुभयो ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम काँग्रेसको काँधमा आएको जिकिर गर्दै चुनावमा काँग्रेस नै पहिलो पार्टी बन्नुपर्नेमा जोड दिनुभयो ।