विश्व शारीरिक सुगठनमा नेपाली टोलीको सहभागिता

1968
views

काठमाडौं, १७, असोज । मंगोलियाको उलानबटारमा आयोजना हुने नवौं डब्लूबीपीएफ वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउने भएको छ । वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडेरेसनको तत्वावधान तथा मंगोलियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा हुने प्रतियोगितामा ६ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बिदाइ गर्नुभएको हो । असोज २३ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिप मंगलवारदेखी सुरु हुँदैछ । च्याम्पियनसीपमा रुजेश शाही, ननिता महर्जन र कमल भण्डारीले सहभागिता जनाउने छन् ।

सन् २०१५ मा थाइल्यान्डमा भएको सातौंं विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्समा रजत पदक प्राप्त गर्न सफल खेलाडी रुजेशले ६० केजी तौलसमूहमा सहभागिता जनाउनेछन् । यस्तै थाइल्यान्डको पतायामा सम्पन्न आठौं संस्करणमा फिजिकतर्फ पहिलो पटक कांस्य पदक प्राप्त गर्दै शारीरिक सुगठनमा पहिलो पदक प्राप्त गर्ने महिला खेलाडी हुने सौभाग्य प्राप्त गरेकी ननिता महर्जनले एक सय ६५ सेमी एथलेटिक्स फिजिकमा सहभागिता जनाउने छिन् ।

कोरियामा सम्पन्न ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा कांस्य पदक प्राप्त गर्न सफल कमल भण्डारीले ५५ केजी तौलसमूहमा सहभागिता जनाउने छन् । नेपाली टोलीको नेतृत्व नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले गर्नेछन् । यस्तै निर्णायकमा संघका सदस्य ईश्वरमान श्रेष्ठ र अफिसियलमा रुदन वज्राचार्य रहेका छन् । नेपाली टोली सोमबारै त्यसतर्फ प्रस्थान गरेको छ ।