तोकिएकै समयमा चुनाव भए सरकार छोड्न तयार–प्रचण्ड

2010
views

काठमाण्डौ, २१ असोज । बाम तालमेलको आवेगमा काँग्रेसले सरकार छोड्नै पछ भन्ने हो भने पनि सरकार छोड्न तयार रहेको प्रचण्डले बताएका छन् । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै माओवादी केन्द्र सरकार ढाल्ने पक्षमा नभएको बताउँदै एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेको र यो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान रहेको बेला सरकार र मन्त्रपिद मुख्य नरहेको बताए ।

‘यसले सरकारलाई कुनै असर गर्दैन’, अध्यक्ष प्रचण्डले भने ‘हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं । हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए । उनले भने ‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ ।

एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं । अहिले हाम्रा आ–आफ्नै वैचारिक मान्यता कायम छन् ।’