नवदृष्टि संवादादाता
काठमाण्डौ, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी भोली यूएई जानुहुने भएको छ । राष्ट्रपतिले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज तथा यूएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म यूएईको औपचारिक भ्रमण गर्नुहुने भएको हो ।
यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानुहुनेछ ।
नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुनेछ ।