निर्वाचन आयोगमा सुरक्षा निकायको बैठकः उच्च सतर्कता अपनाउन आयोगको निर्देशन

781
views

काठमाडौं २७ कार्तिक । उम्मेदवारमाथि आक्रमण हुन थालेपछि निर्वाचन आयोगले उच्च सुरक्षा अपनाउन सुरक्षा निकायलाई निर्देशन गरेको छ । निर्वाचन आयोगले सुरक्षा निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै आयोगमा डाकिएको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा मजबुत पार्न निर्देशन दिएका हुन् ।
बैठकमा रक्षासचिव विनोद केसी, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलाई आयोगमा डाकेर यादवले चुनाव नजिकिँदै जाँदा चुनाव भाँड्ने तत्वहरू झन् सक्रिय हुने भएकाले सुरक्षा चुस्त पार्न निर्देशन दिएका हुन्। यादवले माओवादी केन्द्रका उम्मेदवारमाथि लगातार भइरहेको आक्रमण प्रयासलाई ख्यालठट्टा नसम्झन सुरक्षा प्रमुखलाई सुझाएका थिए ।
‘चुनावविरोधी तत्वहरू बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुड’ मा जान खोजेको देखिन्छ, यस्ता गतिविधि निरुत्साहीत नगरे भयावह स्थिति सिर्जना हुन सक्नेप्रति संकेत गर्दै तम्तयारी अवस्थामा बस्न आयोगले निर्देशन दिएको हो ।
बैठकमा रक्षा सचिवले भने सेनाको गस्ती खटिइसकेको जानकारी दिएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखलाई अन्य सुरक्षा निकायको समन्वयमा चुनाव भाँड्ने तत्वको निगरानी र धरपकडका लागि क्रियाशील रहन निर्देशन दिएको जानकारी यादवलाई गराएका थिए । गृहसचिव सापकोटाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षामा कुनै सम्झौता नगर्न सुझाएको जानकारी गराएका थिए ।