प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न

931
views

काठमाण्डौ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ सम्पन्न भएको छ ।  प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको उपस्थितिमा सम्पन्न भएको हो ।


त्रिभुवन आर्मी क्लब महिला फुटबल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम बीच भएको फाईनल खेलमा सशस्त्र प्रहरी महिला फुटवल टिमले त्रिभुवन आर्मी क्लब महिला फुटबल टिमलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी महिला फुटबल टिमलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले ट्रफी, मेडल र नगद रु.३,००,००० (तीनलाख) को चेक बोर्ड प्रदान गर्नुको साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी महिला फुटबल टिमकी सपना लामालाई स्कुटरको साँचो प्रदान गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा द्वितीय त्रिभुवन आर्मी महिला फुटबल टिमलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले मेडल तथा प्रमाणपत्र र नगद रु १,५०,००० (एकलाख पचास हजार) को चेक बोर्ड प्रदान गर्नु भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल किपर सशस्त्र प्रहरी महिला फुटबल टिमका क्रमशः जनक सिंह, मनमाया लिम्बु र एन्जिला तुम्बाहाम्फे तथा उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर त्रिभुवन आर्मी महिला फुटबल टिमका क्रमशः कृष्णा खत्री र दिपा राई घोषित भई जनही रु. १०÷१० हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको खेल अवधीमा १२ गोल गर्दै सशस्त्र प्रहरी बल महिला फुटबल टिमका सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता घोषित भएकी थिईन् उनले २५ हजार नगद र ट्रफी प्राप्त गरेकी छिन् । साथै, उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो ।
नकआउटको आधारमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा दश टिमको सहभागिता रहेको थियो ।
समापन समारोह कार्यक्रममा रक्षा सचिव श्री विनोद के.सी., खेलकुद मन्त्रालयका सचिव श्री महेश प्रसाद दाहाल, पूर्व प्रधानसेनापतिहरु, अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द, सेनानी समुह लगायत संचारकर्मी तथा खेलप्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।