तीन करोड रुपैयाँ आम्दानी गर्दै बाँसखर्क

1006
views

काठमाडौं, १, पुस । पर्वतको जललजा– १ बाँसखर्कमा खेतीपाती भन्दा पनि सुन्तलाबाट निकै आम्दानी हुने गरेको छ ।
यहाँका अधिकाँस किसानहरु सुन्तलाबाट मनग्ये आम्दानी गर्न सफल भएका छन् । किसानहरुले यसबर्र्ष करिब ३ करोड रुपैयाँको सुन्तला फलाएका छन् । ‘यो वर्ष सुन्तला फलेको क्षेत्रफल विस्तार भएको छ,’ स्थानीय किसान मेकबहादुर खत्रीले भने, ‘धेरैजसोले धान खेतमा रोपेका सुन्तला फष्टयाएकोले आम्दानी पनि बढ्ने आशा गरिएको छ ।’

वडाका २ सय ६१ मध्ये दुई सय बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । बोटैभरी फलेका पहेंला सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म गाउँ समेत आकर्षक बन्ने गरेको छ ।

पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायिकरण, सुन्तलामा लाग्ने रोगकिराको निदान, उन्नत जातका बिरुवाको विस्तार, मलबीऊले बर्षेनी सुन्तला उत्पादनमा बृद्धि भएको छ ।

बजार
मुख्यत बाँसखर्कमा उत्पादित सुन्तला बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंका विभिन्न ठाउँहरुमा पुग्ने गरेको स्थानीयको भनाई छ ।

‘गाउँभरका अढाइ सय परिवारमध्ये दुई सय बढीका खेतबारीमा सुन्तला मात्रै छ,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘थोरै कमाउनेले पनि एक लाख रुपैयाँ हात पार्छन् । आधाभन्दा बढीले सहरमा घरजग्गा जोडेका छन् ।’ उनले पनि बेनी, पोखरा र चितवनमा घडेरी जोडेका छन् ।

‘बजारमारे सुन्तला उत्पादन सहकारी’ मार्फत सुन्तलाको बिक्रि वितरण गरिदैं आएको छ । ०६९ सालमा यो सहकारीको स्थापना गरेपछि ठेक्कापट्टाको झ्यालो समेत हराएको छ ।

‘५–६ वर्षयता असोज–कात्तिकमै व्यवसायी आएर सुन्तलाका बोट नियाल्थे र सुन्तला व्यावसायिलाई बुझाउने रकममा पनि व्यापारीहरुले नाफा निकाल्ने गर्दथे अहिले सहकारीको स्थापनाले त्यो पनि विस्तारै हट्दै गएको छ । सुन्तला बिक्री गरेर केही रकम सहकारीमा जम्मा गरिन्छ र सो रकमले ३ जना कर्मचारीलाई रोजगारी र सुन्तलाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ ।
आधुनिक उपकरणको व्यवस्था

गाउँमा आवश्यक पर्ने उपकरण जिल्ला कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा खरिद गर्ने गरिएको किसानहरू बताउँछन् । पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादनलगायतमा सहुलियत र सहज भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।