सनातनधर्मको अति महत्व छः दार्शनिक प्रवक्ता चैतन्य कृष्ण

3985
views

मिलन विश्वकर्मा
स्याङ्जा, ०२ पौष । नेपालकै प्रखर एवं सुप्रसिद्ध दार्शनिक प्रवक्ता श्री चैतन्य कृष्ण प्रभुले धर्मलाइ बचाउन सके धर्मले हामीलाइ बचाउने उल्लेख गर्दै विश्वमा अत्यन्तै वैज्ञानिकरूपमा प्रमाणित भएको सनातन धर्मको संरक्षण, प्रचार र विस्तारमा लाग्न सवैलाइ अनुरोध गर्नभयो ।उहाँले आध्यात्मिक जीवनबाटै मानिसलाइ आत्मिक शान्ति र सन्तुष्टि मिल्ने भएकोले आध्यात्मिक जीवनयापन गर्न सबैलाई अनुरोध गर्नभएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ महालिङ्गधाम मालुङ्गाको उत्तरवाहिनी क्षेत्रमा हिन्दु जागरण नेपाल स्याङ्जा द्वारा आयोजित जिल्ला भेला तथा विशेष प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

चैतन्य कृष्णले भन्नुभयो, ‘जुन चीज पनि जति पुरानो भयो त्यति नै महत्वपूर्ण हुन्छ, हाम्रो सनातन धर्म विश्वमा सबैभन्दा पुरानो शाश्वत धर्म हो त्यसैले यसको गरिमा र महत्व अति विशिष्ट छ ।”

अशिक्षा र गरिवी धर्मपरिर्वतनका प्रमुख कारक भएको भन्दै उहाँले थप्नुभयो, “मुलुकलाइ समृद्ध वनाउन सकेमा र हरेक मानवलाइ आध्यात्मिकरूपले शिक्षित बनाउन सकेमा धर्मपरिवर्तन जस्तोे गलत कार्य आफै रोकिनेछ ।”

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व समेत रहनु भएका चैतन्य कृष्णले धर्म परिवर्तन गराउँदै हिड्ने धार्मिक व्यापारीहरुले हिन्दूहरुले ढुङ्गा पूजा गर्ने र मानव माथी नै छुवाछुत गर्ने भन्दै सनातान धर्मको उपहास गरेको बताउनुभयो ।

उहाँले हिन्दुधर्मले मानवलाइ कतै पनि विभेद गर्न नसिकाएको उल्लेख गर्दै असल र सभ्य मानवलाइ सनातनधर्ममा विशिष्ट स्थानमा राखिएको बताउनुभयो ।

“विभेद कहाँ छैन जहाँ पनि छ तर त्यो विभेद अज्ञानमूलक हो, त्यो विभेद अर्धममूलक हो, शिक्षत र आध्यात्मिक चेनताले भरिपूर्ण मानवले सामाजमा व्याप्त विभेदलाइ सखाप पार्नुपर्छ,” चैतन्य कृष्णको भनाइ छ ।

अर्को प्रसंगमा चैतन्य कृष्णले विश्व परिवेशबाट नेपालका नेताहरुले पाठ सिक्दै नेपाली जनताको हित र अस्तित्वको लागि त्यस्तै त्यागी बन्नुपर्ने बताउनुभयो ।
“चीनिया साम्यवादी नेता माओत्सेतुङले पनि चीनमा जनताको गरीवी देखेर विलासी जीवन शैली त्यागे र मासु समेत खान छोडे,” कृष्णको भनाइ छ ।

चैतन्य कृष्णले प्रश्न गर्दै भन्नुभयो, “के नेपालका नेताहरु त्यस्तै त्यागी बन्न सक्छन ?’ नेपाली समाजलाइ नशामुक्त, हिंसामुक्त, छुवाछुत मुक्त, दाइजोमुक्त, अधर्म मुक्त बनाउनु आवस्यक रहेको बताउँदै चैतन्य कृष्णले थप्नुभयो, पैसाको वलमा रक्सी र मासु खुवाएर जुन जुन नेताले चुनाव जित्ने प्रयत्न गरे ती नेता चरित्रहीन हुन, चरित्रहीन नेताबाट यो देशको विकास र जनताको सुनौलो दिन कुनै पनि हालतमा सम्भव छैन ।
“नेपाली जनताको खुसी र समृद्धिको लागि अव असल चरित्रले ओतप्रोत नेताले राष्ट्रको नेतृत्व गर्नुपर्ने आवस्यकता रहेको छ“ उहाँको भनाइ छ ।

कार्यक्रममा हिन्दूजागरण नेपाल रुपन्देहीकी अध्यक्ष तथा मातृशक्ति विभागकी केन्द्रिय प्रमुख उमा ढकाल, धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरु शंकरप्रसाद वस्याल, सीताराम अधिकारी, पद्मप्रसाद अर्याल, शिशिर पौडेल, झवनाथ बस्याल, तुलसा डुम्रेलगायतले हिन्दू धर्मको गरिमा र महत्वको विषयमा बोल्नुभएको थियो ।

जिल्लाका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता रहेकोे भेलाले १०८ सदस्यीय हिन्दू जागरण स्याङ्जा शाखाको जिल्ला कार्य समिति गठन गरेको छ ।

समितिको संरक्षकमा चैतन्यकृष्ण प्रभु, संयोजकमा पण्डित नेत्र प्रसाद पराजुली, अध्यक्षमा लक्ष्मण तिवारी, प्रथम उपाध्यक्षमा घनस्याम खानाल, द्वितीय उपाध्यक्षमा शिशिर पौडेल, सचिवमा नारायण विश्वकर्मा, कोषाध्यक्षमा ऋषिराम गैरे, सह–कोषाध्यक्षमा उदयराज भण्डारी र वाँकी सदस्यमा रहेका छन् ।

सोही भेलाद्वारा दुर्गाप्रसाद डुम्रे संयोजक रहने गरि हिन्दु जागरण स्याङ्जा साखाको सल्लाहाकार समिति पनि गठन गरिएको छ ।

हिन्दू जागरण युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रकाश डुम्रेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य हिन्दू जागरण युवा संगठन स्याङ्जाका सदस्य तोयानाथ ढकालले गर्नुभएको हो र संचालन कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला भित्रका तथा जिल्ला बाहिरका विभिन्न सामाजिक तथा आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो । स्वस्तिवाचन संगै सुरुभएको कार्यक्रम दीप प्रज्वलन तथा आरतीसंगै विसर्जन भएको थियो ।