प्रदेश सभा समानुपातिक तर्फको सिट बाँडफाँडको तयारी

730
views

काठमाडौँ, ६ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फको २२० समानुपातिक सिट बाँडफाँडको तयारी गरेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सम्भवत आज दलहरुले प्राप्त गर्ने सिटको बाँडफाँड हुनेछ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको दलका उम्मेदवार प्रदेशसभा सदस्यमा अट्नेछन् ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई पूर्णता दिएर निर्वाचन आयोगमा पठाइसकेको छ ।

अब सिटबाँडफाँड गरेर आयोगले सम्बन्धित राजनीतिक दललाई नतिजा पठाउने छ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।

सो पछि दलले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी नाम छनोट गरेर आयोगलाई सूचि बुझाउनु पर्नेछ । सूचि प्राप्त भएपछि आयोगले उनीहरुलाई निर्वा्चित भएको घोषणा गर्नेछ ।

प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २२० स्थानका लागि मङ्सिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो ।