एमाले अध्यक्ष ओली र दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति

654
views

भरतपुर, ८ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘ओली जी र मेरो बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् । उनले त्यो ‘सत्ता (सहमति’ बारे शेरबहादुर देउवासँग भएको ईमानको सहमति जस्तै ओलीसँग पनि त्यस्तै सहमति भएको पहिलोपल्ट खुलाए ।

फाईल तस्विर


 

‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो,’ दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ ।’

दाहालले वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाबी गरेका छन्। एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको समेत स्मरण गराए ।

गठबन्धन बनाउन अग्रसर एमाले उच्च तहका नेताहरूले ओली–दाहालबीच आलोपालो सत्ता चलाउने कुनै सहमति नभएको दाबी गरिरहँदा दाहालले यस्तो खुलासा गरेका हुन् ।

के थियो सहमतिमा ?

दाहालनिकट माओवादी एक नेताको दाबीअनुसार सरकारको सुरुवाती तीन वर्ष ओलीले नेतृत्व गर्ने, दाहालले एकीकृत पार्टी हाँक्ने । बाँकी दुई वर्ष दाहाल प्रधानमन्त्री बन्ने र ओलीलाई पार्टीसत्ताको बागडोर मिल्ने । यो सहमतिको निर्माणमा अग्रसर एमाले नेता वामदेव गौतमले केही दिनअघि यसको संकेत त दिई नै सकेका थिए ।

गौतमको सैंबु भैंसेपाटीस्थित निवासमा शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले निष्ठाका साथ पार्टी एकतामा लाग्ने मोटो निर्णय मात्रै र्गयो । स्रोतका अनुसार दाहाल र ओलीबीच असोज १७ को सहमतिमा सरकार बाँडीचुँडी चलाउनेबारे सुरुमा लिखितै गर्ने सहमति भएको थियो । ‘तर पार्टी एकता प्रक्रियाको मूल भावनालाई दखल पुग्ला भनेर हामीले त्यसलाई भद्र सहमतिमा सीमित र्गयौं,’ ती नेताले भने ।

सहमतिका सूत्रधार रहेका माओवादी केन्द्रका अर्का नेताले एक चरणको सहमति ‘पहिल्यै भइसकेको’ भए पनि त्यसमा थप छलफल गर्ने वातावरण मिलिनसकेको बताए । उनको भनाइमा, माओवादी केन्द्र अब एमाले नेतृत्वले दिने जवाफको पर्खाइमा छ । उनीहरूले त्यसका लागि पार्टी एकता संयोजन समितिको निर्णय प्रतीक्षा गरेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले माघभरिमा पार्टी एकता टुंगो लाग्ने प्रतिक्रिया दिएका छन् । ‘धेरै ढिलो नजाला, पहिले केन्द्रीय समिति बसेर अनुमोदन गर्नुर्पयो,’ ज्ञवालीले भने, ‘हामी त्यसैका लागि तयारी गरिरहेका छौं ।’

माओवादी नेता नारायणकाजी श्रेष्ठले शीर्ष नेताबीच अरू पनि कुराकानी भएको हुन सक्ने संकेत गरे तर प्रस्ट खुलाएनन् । ‘मूल कुरा अहिले पार्टी एकता प्रक्रिया सफल पार्नु छ, अनि सरकारलाई परिणाममुखी बनाउनु छ,’ श्रेष्ठले भने, ‘बाँकी कुरा आपसी सहमतिमा टुंगो लगाउँदै जाऔंला ।’