नवदृष्टि संवाददाता । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले(माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै आफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे ।
‘माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । कोही जान्छन् भने जाउन् । दोहोरी लाउने कुरा भएन् । हामी माओवादी केन्द्र पुर्नगठन गरेर सञ्चालन गर्न बाध्य हुनेछौँ” किरातीले भने । उनले एमाले–माकेले एकता भन्ने लोकप्रिय शब्दको दुरुपयोग गरेको समेत बताए ।
”यो एकता भन्ने लोकप्रिय शब्द उहाँहरुले प्रयोग गरिराख्नु भएको छ । हामी त्यसलाई बिलय भनिरहेका छौं, पार्टी भनेको के हो ? पार्टी केले बन्छ ? यसका आधार हुन्छन् । वर्ग दृष्टिकोण, विचारधारा, रणनीति, कार्यनीति, राजनीतिक कार्य्दिशालगायतका थुप्रै विषय वस्तुले पार्टी बनेको हुन्छ” नेता किरातीले भने । उनले नेकपा एमालेले मार्क्सवाद, लेनिनवाद र माओवाद एमालेले नमान्ने भएकोले एकता नभएर माकेको विलय भएको दाबी गरे ।
”माओवादी केन्द्रले अहिलेसम्म उठाएको आएको अर्को मुद्दा हो, पहिचानको । यो पनि एमालेले मान्दैन, त्यो छोडेर नै एकता हुन्छ । केको आधार र केका निम्ति एकता भनेर हामी प्रश्न गरिरहेका छौं । माओवादीको नेतृत्व जो दाम्लो चुँडाएर एमालेतिर हाम्फाल्दैछ, उहाँहरुसँग यसको जवाफ छैन, हामी त्यो जवाफ खोजिराखेका छौं” किरातीको भनाई छ । उनले एमालेले माओवाद र पहिचानको मुद्दा मान्यो भने हामी नाँचेर त्यो एकतामा जाने नत्र नजाने प्रष्ट पारे ।
आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले माओले नगर भनेका तीनै कुरा गरिरहेको आरोप लगाउँदै किरातीले माओत्सतुङले मार्क्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट हौ, छलछाम र षड्यन्त्र नगर, जुट र नफुट भन्नु भएको छ तर अध्यक्ष कमरेडले एमालेसँगको यो एकतामा ठीक उल्टो गरिरहनु भएको छ ।” उनले प्रचण्डले मार्क्सवादमा मौनता, असोज १६ गते षड्न्त्र गरेको र के आधारमा जुट्ने ? भन्नेमा अन्यौलता देखाएको बताए । नेता किरातीले माओवादी आन्दोलनमा जसले माओवाद र पहिचानको मुद्दा छोड्छ त्यो पार्टी फुटाउने समूह भएको बताउँदै अहिले प्रचण्ड पार्टी फुटाएर एमालेमा विलय गराउन लागेको बताए । आफ्नो पार्टी र एमालेको चुनावी गठबन्धनसम्म कुनै आपत्ति नभएको बताउँदै नेता किरातीले तर माओवाद र पहिचान छोडेर एमालेमा विलय हुन लागेकोप्रति आपत्ति भएको बताए ।
किरातीले वाम गठबन्धनले समाजवाद ल्याउँछौ भनेको पत्याउन नसकिने कुरा भएको बताउँदे भने, ”वाम गठबन्धनका प्रमुख खड्ग ओलीलाई माओवादी केन्द्रको प्रश्न हुन्छ, के निजी अस्पताल, बैंक र विद्यालयलाई राष्ट्रियकरण गर्न सक्छौं ? श्रमिकवर्गका लागि राष्ट्रिय पूँजी निर्माण गर्न सक्छौं ? आउँदो बजेटमा विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकजस्ता वित्तीय साम्रराज्यवादीहरुको चँगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्न सक्छौं ? यी ज्वलन्त प्रश्नको सकरात्मक जवाफ नदिइकन समाजवाद हुँदैन ।”
नेता किरातीले माओवादी आन्दोलनको लागि हजारौंको रगत,लाखौँको पसिना र आँशु बगेको बताउँदै जनयुद्धले स्थापित गरेका मुद्दालाई छोडेर एमालेमा प्रवेश नगर्ने बताए । उनले आफूहरुले महाधिवेशनको माग गरेको जानकारी दिँदै अध्यक्षले महाधिवेशनको आयोजना नगरे माओवादी केन्द्रलाई पुर्नगठन गर्ने बताए ।