मेलम्ची सुरुङः ४४३ मिटर मात्र खन्न बाँकी

675
views

सिन्धुपाल्चोक, १६ पुस । हेलम्बु, सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ शनिबार छिचोलिएको छ ।

मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ शनिबार छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ।

ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनुभयो । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उहाँको प्रतिबद्धता छ ।

अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले आज रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरे ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताए ।

सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम शुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ ।

यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७१७ करोड लिटर पानी लगिनेछ ।

दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताए ।