न्याम्सले उत्पादन गर्दैछ दृष्टि विशेषज्ञ

714
views

काठमाडौं २०,पुस । देशमा दृष्टि विशेषज्ञ (अप्टोमेट्रिक्स) को अभाव हुन थालेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले पहिलो पटक स्नातक तहमा अप्टोमेट्रिक एन्ड भिजन साइन्स विषयमा अध्यापन सुरु गर्न लागेको छ ।

दृष्टि विशेषज्ञको अभाव भएपछि न्याम्सले यही वर्षबाट स्नातक तहमा अप्टोमेट्रिक एन्ड भिजन साइन्सको विषय थप गरी अध्यापन गराउन सुरु गर्न लागेको हो । शिक्षण अस्पताल महाराजगन्जले वार्षिक छ जना अप्टोमेट्रिक्स उत्पादन गरे पनि उत्पादित अधिकांश जनशक्ति विदेशिने गरेको छ । शिक्षण अस्पतालबाहेक अन्य कुनै पनि कलेज तथा अस्पतालले हालसम्म अप्टोमेट्रिक एन्ड भिजन साइन्स विषयमा अध्ययन अध्यापन गराउन सकेका छैनन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा गणेश गुरुङले नेपालमा दृष्टि विशेषज्ञ अत्यन्त कम रहेको र भएका पनि नेपालमा भविष्य नदेखेर विदेशिन थालेपछि न्याम्सले अप्टोमेट्रिक एन्ड भिजन साइन्स पठनपाठन सुरु गर्न लागेको जानकारी दिनुभयो ।

हालसम्म जति पनि दृष्टि विशेषज्ञ उत्पादन भएका छन्, ती जनशक्तिले नेपालमा आँखा रोगको क्षेत्रमा काम गर्न कठिन हुने बताउँदै उपकुलपति डा. गुरुङले भन्नुभयो, “न्याम्सबाट वार्षिक ४० जना अप्टोमेट्रिक्सले (दृष्टि विशेषज्ञ) नेपालमा केही माग धान्न सक्ने अवस्था आउनेछ । ” चार वर्ष लाग्ने उक्त कोर्समा न्याम्सले सात लाख रुपियाँमा अध्ययन गरिसक्ने जानकारी दिएको छ ।

नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले न्याम्सको आबद्धतामा सङ्घले तीनवटा अस्पतालमा अप्टोमेट्रिक एन्ड भिजन साइन्स विषयमा पठनपाठन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले नेपाल नेत्र ज्योति सङ्घले भरतपुर आँखा अस्पताल, भैरहवा र विराटनगरमा अप्टोमेट्रिक विषयमा अध्ययन अध्यापन सुरु गर्ने तयारी गरिरहेको र प्रत्येक अस्पतालमा आठ–आठ जना विद्यार्थी अध्ययन गर्न न्याम्सले स्वीकृत दिएको जानकारी दिनुभयो । प्राडा मिश्रले नेत्रज्योति सङ्घ मातहतका विभिन्न अस्पतालहरूमा हाल ३० जना मात्र अप्टोमेट्रिक्सहरू रहेको र ती जनशक्ति फिलिपिन्स, भारत र शिक्षण अस्पतालमा अध्ययन गरेर आएको बताउनुभयो । प्राडा मिश्रका अनुसार तत्काल सङ्घलाई एक सय जना अप्टोमेट्रिक्सको आवश्यकता परेको छ ।

न्याम्सका उपकुलपति डा. गुरुङका अनुसार न्याम्स अन्तर्गत अप्टोमेट्रिक एन्ड भिजन साइन्स विषयमा देशभरका पाँच वटा आँखा अस्पतालहरूमा पठनपाठन हुनेछ । तीमध्ये तीन वटा नेपाल नेत्रज्योति सङ्घअन्र्तगत अस्पतालहरू छन् । डा. गुरुङले भैरहवा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल मोरङ, तिलगङ्गा आँखा अस्पताल काठमाडौंँ, भरतपुर आँखा अस्पताल चितवन र नेपाल आँखा अस्पताल काठमाडौँमा अप्टोमेट्रिकसियनको उत्पादन हुने बताउनुभयो ।

डा. गुरुङले विद्यार्थीले पहिलो छ महिना आधारभूत विज्ञान विषय अध्ययन गर्नुपर्ने भएकाले त्यसका लागि भने भैरहवा आँखा अस्पताललाई अध्यापनका लागि जिम्मा दिइसकेको जानकारी पनि दिनुभयो । त्यसपछि देशका विभिन्न ठाँउका पाँच आँखा अस्पतालमा विद्यार्थी भर्ना गरेर अप्टोमेट्रिक एन्ड भिजन साइन्समा पठनपाठन सुरु गरिनेछ ।
रेडियोग्राफीमा स्नातकोत्तर सुरु
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले रेडियोग्राफी विषयमा स्नातकोत्तर तहमा पनि पठनपाठन सुरु गरेको छ । न्याम्सका उपकुलपति डा. गुरुङले न्याम्सले रेडियोग्राफी विषयमा पहिलो पटक एमएसी-एम आइटी विषयको अध्यापन सुरु गरेको जानकारी दिनुभयो । न्यान्सले सुरुको वर्ष चार जना विद्यार्थीलाई मात्र स्नातकोत्तर विषयमा रेडियोग्राफी अध्यापन गराएको छ ।  डा. गुरुङले रेडियोग्राफीमा स्नातकोत्तर गरिसकेपछि सिटीस्क्यान, एमआरआई, एक्सरेका दक्ष हुनुका साथै यिनीहरूको प्रयोग कसरी गरिन्छ तथा यसको समुचित व्यवस्थित कसरी गराउन सकिन्छ भन्ने विषयमा विज्ञता हासिल गर्ने छन् ।