काठमाडौँको तापक्रम शून्य डिग्रीमा

937
views

काठमाडौँ, २३ पुस । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ ।