मैदानमा आफ्नै टिमका ब्याट्सम्यानले खुशी मनाइरहँदा कप्तान निराश !

830
views

काठमाण्डौ, २४, पुस । अस्ट्रेलिया र इंग्ल्याण्डबीच जारी एसेस क्रिकेट शृंखला अन्तर्गत पाँचौं तथा अन्तिम टेस्ट म्याचका क्रममा अस्ट्रेलियाका दुई ब्याट्सम्यान मैदानमा खुशी साटासाट गरिरहँदा सोही टिमका कप्तान स्टीभ स्मिथ भने टाउकोमा दुवै हात राखेर सो दृष्य निराश मुद्रामा हेरिरहेका थिए ।

म्याचको चौथो दिन १७२.२ ओभरमा यस्तो दृष्य देखिएको हो । अस्ट्रेलियाका मिशेल मार्स ९८ रनमा खेलिरहेका थिए । टम करनको बललाई प्वाइन्टको दिशामा प्रहार गर्दै उनी दुई रनका लागि दौडिए । तीव्र गतिमा उनले एक रन पुरा गरे । तर दोस्रो रन पुरा गर्नुअघि नै उनी शन मार्ससँग अंकमाल गर्दै खुशी बाँड्न थाले । उनी आफ्नो शतक पुरा भएकोमा खुशी बाँड्दै थिए । यद्यपि उनले ९९ रनमात्र पुरा गरेका थिए ।

अस्ट्रेलियाका कप्तानसहित अन्य खेलाडीहरु ड्रेसिङ रुमबाट यो दृष्य हेरिरहेका थिए । सुरुमा त कप्तान स्मिथले पनि ताली बर्जार मिशेलको शतकमा बधाइ दिएका थिए तर रन लिने क्रममा ९९ रनमात्र पुरा गरेर क्रिजको बीचमै दुई खेलाडी खुशी बाँड्न ब्यस्त रहेपछि उनी स्तब्ध भए । किनकी कुनै पनि बेला ‘रन आउट’ को सम्भावना थियो र शतक पनि पुरा भएको थिएन ।

ड्रेसिङ रुमबाटै कप्तान स्मिथले चिच्याएर मिशेललाई अर्को रन पुरा गर्न भने । त्यसपछि बल्ल मिशेल आफ्नो रन पुरा गर्न दौडिए । अन्ततः उनले रन पुरा गर्दै आफ्नो नाममा शतक लेखाए । पछि मार्श दाजुभाई आफूहरुको बेवकुफीप्रति हाँसिरहेका देखिन्थे । ईमेज खबरबाट