इपीजी बैठक नयाँ दिल्लीमा शुरु, नेपालको चाहनामा भारत लचक

860
views

काठमाण्डौ, २७ पुस । नेपाल भारत प्रबुद्ध समूहको संयुक्त बैठक भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ । दिल्लीको इन्स्टिच्युट फर डिफेन्स एण्ड एनालाइसिस (आइडीएसए) भवनमा बैठक सुरु भएको हो । बैठकको पहिलो दिन आज पाँचौ बैठकसम्म छलफल भएका विषयहरूको समीक्षा र दोश्रो दिन छलफल गरिने एजेण्डा तय छ ।

नेपालको तर्फबाट उठाएका १९५० को सन्धि लगायत अन्य मुद्दामा सकेजति लचक भएर सम्बोधन गर्न मोदीले इपीजीलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ। मोदीले ’विन ओभर नेपाल’ (नेपालको मन जित) भन्ने निर्देशन दिएको स्रोतले जनाएको छ।

भारतीय पक्षले नेपालसँगको सम्बन्धमा भएको असमझदारी (मिसअण्डरस्ट्यान्डिङ) हटाउन १९५० को सन्धि लगायतका विषयमा नेपालले चाहे अनुसार परिमार्जन गर्न सकिने संकेत गरेका छन् ।

नेपालको तयारी बारेको जिज्ञासामा नेपाली पक्षका संयोजक भारतका लागि नेपालका पूर्व राजदूत डा. भेषबहादुर थापाले नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर दुई मुलुकबीचको सम्बन्धलाई मजबुत बनाउने गरी छलफल अघि बढाउन समूह तयार रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रबुद्ध समूहलाई बैठकमा सहभागी हुन आउनु अघि सोही अनुरुप निर्देशन दिएका थिए ।

बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको विषयमा आएका राय र चासो लगायत सीमा, डुबान, व्यापार सम्झौतालगायत विषयमा थप छलफल हुने बुझिएको छ ।

बैठकमा भारतका तर्फबाट समूहका संयोजक भगतसिंह कोशियारी तथा सदस्यहरू प्राध्यापकद्वय महेन्द्र पी.लामा तथा बीसी उप्रेती, नेपालका लागि पूर्व भारतीय राजदूत जयन्तप्रसाद समेत सहभागी छन्। नेपालका तर्फबाट संयोजक भारतका लागि पूर्व राजदूत डा. भेषबहादुर थापा तथा सदस्यहरू पूर्वमन्त्री निलाम्बर आचार्य, अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र एमाले नेता राजन भट्टराई सहभागी भएका छन् ।