‘पृथ्वीनारायण शाहले छाडेको लालपुर्जा हो नेपाल’ विश्लेषक-नेपाली

1397
views

नुवाकोट, २७, पुस । नागरिक मुल समारोह समितिको आयोजनामा २९६ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । नुवाकोट दरवार परिषरमा भएको कार्यक्रमममा बोल्दै बरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक देबेन्द्रलाल नेपालीले पृथ्वीनारायण शाहको लडाइँ देश एकीकरणका लागि मात्र नभई भूक्षेत्रलाई मजबुत किल्लाको रूपमा विकास गरी तात्कालिक साम्राज्यवादी ब्रिटिसको कोपभाजनमा पर्नबाट हिमालदेखि तराईसम्म बसोबास गर्ने जनताको स्वाभिमान र मौलिक पहिचान रक्षाका खातिर रहेको बताए ।

नेपालीले पृथ्वीनारायण शाहले त्यसप्रकारको अग्रसरता नलिएको भए आज नेपाल भन्ने मुलुक विश्वमानचित्रमा कतै अङ्कित हुने थियो भनी विश्वास गर्न नसकिने बताए ।

कार्यक्रममा विशेष प्राज्ञिक तथा विश्लेषक डा. केबि रोकायाले विभिन्न भौगोलिक, जातिक तथा सामाजिक सद्भावलाई बिखण्डन गराएर नेपाल र नेपालीलाई टुक्राउन खोजिरको बताउँदै राष्ट्रको पहिचानलाई मेटाउन नहुने बताए ।

रोकायाले शाह बंशिय राजसंस्था, नेपाली सेना र हिन्दु धर्मले नेपाल देश अडिएको बताउँदै नेपालको इतिहास र सम्प्रदायको नाश गरि देशको बिनाश गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा राजनीतिक बिश्लेषक बिष्णु शर्माले राष्ट्र पृथ्वीनारायण शाहको अभियानमा रहेकोले उनको सदैब सम्मान गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थाले राष्ट्र विखण्डनतिर गएको पनि दाबी गरे ।

पृथ्वी जयन्तीका अवसरमा बोल्दै एकीकृत राष्ट्रवादी नेपालका सह–महामन्त्री श्याम केसीले जस्ले राष्ट्रलाई राष्ट्रको रुपमा उभ्यायो उसैको ईतिहास मेटाउने दुस्प्रयास गर्नु देशलाई विखण्डनको बाटोमा लैजानु सिवाय अरु केही नभएको बताए ।

नागरिक मुल समारोह समितिका संयोजक कुश बहादुर डङ्गोलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष सन्तमान तामाङ, नुवाकोट बिदुर– २ का वडा अध्यक्ष विरेन्द्र कुमार शाही, लिखु गाउँपालिका–१ का अध्यक्ष नरहरी पान्डे, राप्रपाका जिल्ला अध्यक्ष बिष्णु प्रसाद सापकोटा, समाजसेवी सुदर्शन खड्का, एकीकृत राष्ट्रवादीका अध्यक्ष कुल बहादुर खड्की लगायतले पृथ्वीनरायाण शाहको योगदानको उच्च कदर गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाँस अतिथिहरुले नेपाल पृथ्वी नारायण शाले जोगाएको लालपुर्जा भएको बताउँदै शाहको अगुवाईबाट नै नेपालीहरुले नागरिकता र लालपुर्जाले नेपाली भन्न पाएको बताए ।