राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस केन्द्रिय समितिको बैठकमा छलफल

611
views

काठमाण्डौ, ४ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायतका नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो ।

निर्वाचन प्रणालीका बारेमा उम्मेदवार तथा मतदातालाई आवश्यक प्रशिक्षण गर्नुपर्ने आवश्यकता भएकाले कांग्रेसले निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत निर्णय गर्ने उनले नेता बालकृष्ण खाँणले जानकारी दिए ।

सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी गरेको छ ।

राष्ट्रियसभा निर्वाचनको तयारीका लागि सरकारले बुधबारमात्रै मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशका प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको अस्थायी केन्द्रसमेत तय गरेको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेपछि बुधबार नै आयोगले समेत प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक बसेको हो ।