टेलिकमको आम्दानीमा पाँच गुणा वृद्धि

1758
views

काठमाण्डौ, ४ माघ । नेपाल टेलिकमको आम्दानी १३ वर्षयता झन्डै पाँच गुणाले बढेको छ । टेलिकमले सार्वजनिक गरेको गत १३ वर्षको वार्षिक विरणका आधारमा कुल आम्दानीमा ४८३.४६ प्रतिशतले वृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार संस्थान नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएयता कम्पनीको आम्दानी ठूलो मात्रामा वृद्धि भएको हो । पहिलो आर्थिक वर्ष २०६१ र ०६२ मा कम्पनीले नौ अर्ब १९ करोडभन्दा बढी आम्दानी गरेको थियो । त्यसको १३ वर्षपछि आर्थिक वर्ष २०७३ र ०७४ मा टेलिकमको कुल आम्दानी ४४ अर्ब ४४ करोडभन्दा बढी पुगेको छ । यो १३ वर्षको अवधिमा कम्पनीले तीन खर्ब ७९ अर्ब ११ करोड कुल आम्दानी गरेको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार यस अवधिमा कम्पनीको ग्राहक संख्यामा आएको वृद्धि आम्दानी वृद्धिको प्रमुख कारण हो ।

दूरसञ्चार प्राधिकरणले २०६१ साल वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनका आधारमा टेलिकमको ल्यान्डलाइन, पोस्टपेड र प्रिपेडका प्रयोगकर्ता जम्मा ६ लाख ८२ हजार थिए । त्यो संख्या बढेर अहिले दुई करोड हाराहारी पुगेका छन । प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकका आधारमा अहिले टेलिकमका प्रयोगकर्ता एक करोड ८३ लाख ८६ हजार छन् ।