काठमाडौं । अवैध लागु औषध चरेश बरामद गर्न प्रहरी नै ग्राहक बन्यो । प्रहरीले रोल्पाको थवाङ गाँउपालिका ३ घर्तिगाँउमा अवैध चरेशको कारोबार बढेको थाहा पाएपछि प्रहरी ग्राहक बनेको थियो । प्रहरी सफल पनि भयो । सो गाउँपालिकाबाट प्रहरीले ५० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गर्न सफल भएको छ ।
प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्युरोको टोलीले शनिबार बिहान ४ बजेतिर ५० किलो तयारी अवस्थामा रहेको अवैध लागुऔषध चरेश बरामद गरेको हो । विषेश सूचनाको आधारमा रोल्पा पुगेको ब्युरोको टोलीले लातावाङका २२ वर्षिय प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई नियन्त्रणमा लिएर उनीहरुको साथबाट ५० किलो अवैध चरेश बरामद गरेको प्रदेश नम्बर ५ प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले बताए । प्रहरीलाई रोल्पा चरेश उत्पादनको मुख्यस्थल भएकाले रोल्पामा निगरानी बढाएको थियो ।
प्रहरीका अनुसार आईतबार राति पक्राउ परेका २ जना गाँउमा चरेश उत्पादन गर्न लगाउने र संकलित चरेश भारतीय बजारमा पुर्याउने काम गर्दै आएका हुन् । नेपालगञ्जमा जति पाईने मुल्य गाँउमा पाउने भएपछि उनीहरुले पक्राउ गर्न गएको प्रहरी टोलीलाई ४० हजार प्रति किलोका दरमा चरेश दिन राजी भएका थिए । चरेशसहित पक्राउ परेका २ जनालाई आवश्यक कारवाहीका लागि ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाएको छ ।