आज लाग्ने खग्रास चन्द्रग्रहण १५२ वर्षपछिकै पहिलोपटक

739
views

काठमाण्डौ, १७ माघ । आज माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उनले भने ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने सुपर मुन र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।