भूकम्पपीडितलाई दोस्रो किस्ता बुझ्ने म्याद थप्ने तयारी

780
views

काठमाण्डौ, २२ माघ । भूकम्पपीडितले आवास अनुदानको दोस्रो किस्ता लिने म्याद थपिने भएको छ । ०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी घरधनीले गत पुस मसान्तमा दोस्रो किस्ता लिइसक्नुपर्ने म्याद रहेकोमा त्यसलाई आगामी चैत मसान्तसम्मका लागि थप्ने तयारी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उच्च स्रोतले जानकारी दिएको छ । ‘यही २६ माघमा बस्ने प्राधिकरण निर्देशक समितिको बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।

यसअघि ०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले पुस मसान्तभित्र दोस्रो किस्ता र जेठ ०७५ भित्र तेस्रो किस्ता लिइसक्नुपर्ने म्याद तोकिएको थियो । तर, पुनर्निर्माणमा जनशक्तिको अभाव, सरकारी प्राविधिक गाउँमा नहुने समस्यालगायतले धेरै भूकम्पपीडितले घर बनाउन सुरु नै गर्न पाएका छैनन् ।

यो आर्थिक वर्ष्भित्र सबै घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि त्यो सम्भव नरहेको प्राधिकरणको उच्च स्रोतको भनाइ छ । ‘माघ महिनाभित्र ३ लाख बन्दै गरेका हुनेछन् र १ लाख बनिसकेका हुनेछन् भन्ने लक्ष्य हाम्रो हो,’ त्यो लक्ष्य प्राप्तिलाई पनि ध्यानमा राखिनेछ ।

२६ गतेको निर्देशक समितिको बैठकमा अहिले तत्काल अड्किएका समस्या समाधानलाई प्राथमिकतामा राखिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।