काठमाडौँ, २७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक उन्नतिले गति लिनेका लागि निर्यातमा वृद्धि हुनुपर्ने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उउपराष्ट्रपति पुनले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा पाँच खर्ब रुपैयाँ व्यापार घाटा रहेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट नेपालमा ६७ अर्ब ८८ करोडको सामान आयात गरिएको र नेपालबाट चीनमा रु एक अर्ब ५८ करोडको सामान मात्र निर्यात भएको बताउँदै यस अवधिमा चीनसँग रु ६६ अर्ब ३० करोडको व्यापार घाटा भएको बताउनुभयो । चीनसँग व्यापार हुने कोदारी नाका भूकम्पपछि बन्द हुनु र रसुवा नाकामा भौतिक संरचना राम्रो नहुँदा देशको अर्थतन्त्रमा असर पर्न गएकोले सरोकारवाला निकायका अधिकारीलाई ध्यानाकृष्ट गराउनुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद अग्निप्रसाद सापकोटाले राजनीति ट्र्याकमा आएकाले विकास निर्माणका माध्यमबाट समृद्धिको ढोका खोल्ने समय आएको दाबी गर्नुभयो । सापकोटाले सरकारले राष्ट्रिय जीवनका सबै क्षेत्रमा रुपान्तरण गर्नुपर्ने समय आएकोले सबैले समान अवसर पाउने समाजवाद स्थापना गर्दै सरकारी, सार्वजनिक र निजी क्षेत्रको तीन खम्बे अर्थनीतिका माध्यमबाट समृद्धिको बाटो खोल्नुपर्ने धाणा राख्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल प्रधानले सरकारका १४ निकायले प्रहरी लगाएर व्यवसायीको अनुगमन गर्दा पनि कालोबजारियाका नाममा दुःख दिइएको गुनासो गर्नुभयो । कर तिरेर व्यापार गर्दा सरकारले २० प्रतिशतभन्दा बढी नाफा नखाऊ भन्नु जायज नभएको उहाँको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ४० वर्षअघि बनेको कालोबजारिया ऐनलाई खारेज गर्न माग गर्नुभयो । सो अवसरमा चीनको गोञ्जाओ प्रान्तमा रहेको नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत रवि भट्टराई, संघका अध्यक्ष विष्णुबहादुर खत्री र महासचिव अर्जुनप्रसाद गौतमले चीनसँगको व्यापारलाई सहज बनाउन आवश्यक पूर्वाधार निर्माण एवं तयारीका काम गरिनुपर्नेमा जोड दिनुभयो ।