जमरकट्टेल बने प्रदेश–३ को गृहमन्त्री

प्रहरी प्रधान कार्यालय, सैनिक जंगी अड्डा र सरकारका केन्द्रीय निकाय रहेको प्रदेश

641
views

काठमाण्डौ, २९ माघ । माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले प्रदेश–३ को गृहमन्त्री मानिने ‘आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा शपथग्रहण गरेका छन् ।

प्रादेशिक सरकारको गृहमन्त्री भएपनि शक्ति र जिम्मेवारीका हिसावले प्रदेश–३ का आन्तरिक मामिला र कानून मन्त्री केन्द्रीय गृहमन्त्री सरहकै हुनेछ । कारण केन्द्रीय राजधानी यही प्रदेशमा पर्छ । राजधानी छिर्ने प्रमुख नाकाहरु पनि यहीँ छन् ।

यसैगरी चीन जाने प्रमुख नाका पनि यही प्रदेशमा छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरीको सबैभन्दा ठूलो तैनाथीपनि यही प्रदेशमा गरेको छ । सैनिक जंगी अड्डा, प्रहरी प्रधान कार्यालय र सरकारका केन्द्रीय निकायपनि यही प्रदेशमा छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको दावी गरिरहेका काठमाडौंका पूर्व नगरप्रमुख केशव स्थापितले भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख अनुराधा कोइरालाले जमरकट्टेल तथा स्थापितलाई पद तथा गोपनियताको शपथग्रहण गराएकी छन् ।