ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष दाबी

583
views

काठमाडौं ३ फागुन । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले आज बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो । राष्ट्रपतिबाट ओलीलाई आज नै प्रधानमन्त्रीमा नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र पार्टी एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ । संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।