जुट उद्योगलाई कच्चा पदार्थ अभाव

1289
views

विराटनगर, ३ फागुन । जुट उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुट खेतीमा आएको कमीका कारण सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरू भारत र बङ्गलादेशको भरमा वस्तु उत्पादन गर्न बाध्य हुँदै गएका छन् ।

कच्चा जुट अभावसहित अन्य विभिन्न कारणले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका पाँच जुट उद्योग बन्द भइसकेको र बाँकी रहेका पाँच उद्योगको समेत अवस्था खराब रहेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले बताउनुभयो ।

कोरिडोरमा स्थापित उद्योगमध्ये हाल पाँच उद्योगले वस्तु उत्पादन गरी भारत र बङ्गलादेशमा निर्यात गर्दै आएका छन् तर कच्चा पदार्थका लागि भारत र बङ्गलादेशकै भर पर्नुपर्ने भएपछि त्यस्ता उद्योगले उत्पादन गरेको वस्तुको बजारीकरण र मुनाफा आर्जनमा नकारात्मक प्रभाव रहने गरेको उद्योगीहरूको गुनासो छ ।

कोरिडोरका गुह्येश्वरी, नेपाल जुटमिल, मिक्की जुटमिल, चन्द्रशिव जुटमिल र विराटनगर जुटमिल बन्द भइसकेका छन् । चालू अवस्थाका पाँच जुट उद्योगले वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशत मात्र नेपाली जुट खेतीले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुटसमेत भारत र बङ्गलादेशबाट आयात गरिँदै आएको अध्यक्ष गोल्छाको दाबी छ ।

जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन र उत्पादित वस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्नसके तत्कालको समस्या समाधान हुने जुट उद्योगीहरूको भनाइ छ ।

सुनसरी–मोरङमा सञ्चालित उद्योगहरूमा १४ हजार मजदुर कार्यरत रहेका छन् । कुनै समयमा ३० हजार मजदुरले रोजगारी पाएको जुट उद्योगलाई कच्चा पदार्थ अभाव हुँदा रोजगार गुम्दै गएको छ ।