केपी ओलीः झापा विद्रोहदेखि दुईपटक प्रधानमन्त्री

648
views

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका ओली २०७४ फागुन ३ गते मा दोस्रो पटक प्रधानमन्त्री बनेका हुन् । ओली पहिलोपटक प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए ।

२००७ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलीको परिवार २०२० सालमा झापामा बसाई सर्यो । झापा आएपछि नै उनी राजनीतिमा सक्रिय हुन थाले । २०२३ मा माक्र्सवादी अध्ययन दलमा संगठित हुँदै राजनीतिक यात्रा सुरु गरे । उनले १४ वर्षको कठोर जेल जीवन समेत विताए ।

२०२६ माघमा कम्यनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०२५ देखि पूर्णकालीन राजनीतिमा होमिएका थिए । २०२७ जेठ ९ मा पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु गरेका ओली सोही वर्षको फागुन १६ गते पहिलो पटक गिरफ्तारिमा परे ।

२०२८ मा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएका उनी २०३० असोज २३ मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न भएको आरोपमा गिरफ्तार परे । यो पटकको गिरफ्तारी उनको लागि निकै असहजको थियो । १४ वर्षसम्म जेल जीवन विताउन वाध्य भए । ओलीलाई नेपालको राजनीतिमा झापा आन्दोलनले नै स्थापित गरेको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा झापा आन्दोलनलाई विशेषरुपमा हेरिने गर्छ ।

ओली जेलमै रहँदा २०३५ असार ११ मा उनलाई नेकपा (मार्क्सवादी–लेनिनवादी) को संस्थापक बने । उनी २०४४ असार ११ गते जेलबाट रिहा भए । सोही वर्ष पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्यो । त्यसपछि उनी २०४६ मा तत्कालिन नेकपा मालेको लुम्विनी अञ्चलको इञ्चार्ज भए ओली युवा संघको संस्थापक अध्यक्ष समेत हुन् ।

माले र माक्र्सवादीबीच २०४७ पुस २२ मा एकता हुँदा बनेको एमालेका समेत उनी संस्थापक केन्द्रीय सदस्य हुन् । २०४७ को आम निर्वाचनमा उनले झापा ६ बाट विजय प्राप्त गरे । २०५१ को मध्यावधिमा झापा २ बाट प्रतिनिधि सभामा निर्वा्चित हुँदै मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बने ।

२०५४ माघमा भएको पार्टीको छैटौ महाधिवेशनबाट ओली स्थायी समिति सदस्य हुँदै विदेश विभाग प्रमुख भए । २०५६ को संसदीय निर्वाचनमा पुनः झापा ६ ले उनलाई विजयी बनायो । २०५६ देखि २०५९ सम्म ओली संसदमा प्रमुख विपक्षी दलको उपनेताको रुपमा काम गरे। २०५९ मा भएको पार्टीको सातौं महाधिवेशनमा पनि उनी स्थायी समिति सदस्य भए ।

२०६२ र ०६३ को जनआन्दोलन पछि संसद पुनस्थापित भएपछि बनेको अन्तरिम मन्त्रिमण्डलमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको भूमिकामा रहे । देशमा पहिलो पटक २०६४ मा संविधान सभाको निर्वाचन भयो। यो पटक भने उनले विजय प्राप्त गर्न सकेनन् । २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचन मा भने झापा ७ बाट विजय प्राप्त गरे ।

पार्टीको आठौं महाधिवेशनले पार्टी बहुपदीय संरचनामा जाने प्रस्ताव स्विकृत गर्यो । उक्त महाधिवेशनमा ओली अध्यक्षका प्रत्यासी बने तर झलनाथ खनालसँग पराजित भए ।

२०७० माघमा संसदीय दलको नेतामा निर्वा्चित भए। उनले त्यतिबेला पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए। २०७१ साउन मा भएको पार्टीको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वा्चित भए । उनले वरिष्ठ नेता माधव कुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । नागरिक न्यूजबाट