संघीयता सफल र असफल कर्मचारीको हातमा–सभामुख अधिकारी

1224
views

पोखरा, ७ फागुन । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयता सफल या असफलका विषयमा कर्मचारीसँग जोडेका छन् । सभामुख अधिकारीले नेपालमा लागू भएको संघीयता सफल हुने या असफल हुने विषय कर्मचारीको हातमा रहेको बताएका हुन् ।

संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार गठन भइरहेकाले कर्मचारीको सहयोगबिना संघीयता सफल हुन नसक्ने उनको भनाइ छ । प्रदेश सभा सचिवालयका कर्मचारीका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा सभामुख अधिकारीले सिकाइ र अनुभवका हिसाबले सुरुवाती चरण भएकाले संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै कर्मचारीले सही तरिकाले काम गरे संघीयता सफल हुने बताए ।

‘संघीयता कार्यान्वयनमा हामी सिक्दै छौं,’ अधिकारीले भने, ‘कर्मचारीले सहयोग गरे हामी सिकेर सन्देश दिन सक्छौं ।’ कर्मचारीले ठीक ढंगबाट प्रदेश सरकार सञ्चालनका लागि सहयोग गरे आफू सफल हुनेमा ढुक्क रहेको अधिकारीको भनाई छ । प्रदेश सरकार संघीयताको जग बसाल्ने क्रममा रहेको बताउँदै अधिकारीले समाजवाद उन्मुख समृद्ध प्रदेशका लागि आफ्नो भूमिका रहने प्रस्ट्याए ।

प्रदेशको विकास र संघीयताको कार्यान्वयनका लागि सकारात्मक कुराको बढी प्रचार गरिदिने र जनतामा सकारात्मक सन्देश प्रवाह गरिदिन अधिकारीले आग्रह गरे ।