बैद्य–विप्लवबीच वैचारीक दुरी, जिल्ला जिल्लाबाट कार्यगत एकताको शुरुवात

908
views

चितवन, १५, फागुन । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यगत एकता गरेका छन् ।

चितवनमा आज दुई पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासंगै चार बुँदे निर्णय गरेको छ । दुवै पार्टीबीच केन्द्रीय स्तरमा जारी सहकार्यलाई जिल्ला स्तरमा निरन्तरता दिन दुवै पार्टी सक्रियता पूर्वक सहभागि हुने उल्लेख गरेका छन् ।

फागुन १४ देखि २१ गतेसम्मको शहिद सप्ताह संयुक्त रुपमा मनाउने निर्णय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी इन्चार्ज अम्बिका मुडभरीले नवदृष्टिलाई बताईन् । बैठकले फागुन १९ गते जनयुद्धको प्रक्रियामा भएको बलिदानी र आजको सन्दर्भ विषयमा अन्तरक्रियासहित शहिद परिवारबीच भेटघाट कार्यक्रम गर्ने निर्णय समेत गरेको मुडभरीले बताईन् ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ भने देशव्यापीरुपमा राजनैतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपक्कड ज्यादती प्रति खेद प्रकट गर्दै संयुक्त रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।

बैठकपछि विज्ञप्ती जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का इन्चार्ज अम्बिका मुडभरी र नेपाल कम्युनिष्ट पार्टीको इन्चार्ज लालबहादुर बिसीले संयुक्त हस्ताक्षरीत रुपमा बैठकले गरेका निर्णयहरु र्साजनिक गरेका छन् ।