पर्साकी सिमरन बनिन् मिस तामाङ

629
views

काठमाण्डौ । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जितेकी हुन् ।

प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्नन सफल भएकी तामाङले सबैभन्दा बढी भोट प्राप्त गरेकी थिईन् । उनलाई एक लाख पुरस्कार दिइएको छ । सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिर्याएकी थिईन् । उनी एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एमबास्डर समेत भएकी छिन् ।

यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाण्डौकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ भए ।

यसैगरी, बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप सिम्रन लामा, बेष्ट अनुशासन क्रिष्टिना लामा तथा बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गरे ।

तामाङ जातिको कला, संस्कृति, भेशभूषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताए । ‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान भएकी थिईन् ।