काठमाण्डौ, २९, फागुन । रोहितकुमार पौडेल र सोमपाल कामीले छैटौँ विकेटका लागि ८९ रनको अविजित साझेदारी गरेपछि सोमबार नेपालले विश्वकप क्रिकेट छनोटको समूह बी को अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेको छ ।
जितसँगै नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना यथावत् छ । यद्यपि, हङकङलाई हराए पनि कमजोर रनरेटका कारण नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । पहिलो ब्याटिङ गरेको हङकङ ४८.४ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । नेपालले ४०.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो ।
रोहित र सोमपाल नायक
हङकङविरुद्धको गर या मरको खेलमा मध्यक्रमका युवा स्टार सोमपाल र रोहितकुमारले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालको जित सम्भव भयो । पौडेलले ८६ बलमा ५ चौकाको मद्दतमा ४८ रन बनाए । सोमपालले ४० बलमा ३७ रन जोड्दा ५ चौका प्रहार गरे । ओपनर ज्ञानेन्द्र मल्लले १२, अनिलकुमार साहले २६, कप्तान पारस खड्काले ११ र दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए । यी ब्याट्सम्यान आउट हुँदा नेपाल ६६–५ को कमजोर स्थितिमा थियो । हङकङको ब्याटिङ इनिङमा निजाकत खानले ४७ रनको सर्वा्धिक योगदान दिए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र वसन्त रेग्मीले समान २–२ विकेट हात पारे ।
सुपर सिक्स समीकरण पूरा
विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । समूह एबाट वेस्टइन्डिज, आयरल्यान्ड र युएईले अन्तिम ६ मा स्थान बनाए । अर्को समूहबाट आयोजक जिम्बावेसहित स्कटल्यान्ड र अफगानिस्तान छनोट भए । यता, हङकङ पराजित हुँदा रनरेटका आधारमा अफगानिस्तान सुपर सिक्समा छनोट भएको हो । नेपाल, हङकङ र अफगानिस्तानले समान चार खेलबाट समान २–२ अंक जोडे । रनरेटमा अफगानिस्तानले बाजी मा¥यो ।