पुटिनद्वारा आर्थिक उपलब्धिको दाबी

748
views

एजेन्सी मस्को, २९ फागुन । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कार्यकालमा रुसमा आर्थिक क्रान्ति भएको दाबी गरेका छन् । राष्ट्रपति पुटिनले पछिल्लो पाँच वर्ष्भित्र रुसको आर्थिक वृद्धिदर दोब्बर भएको जनाएका छन् । ‘मेरो कार्यकालमा रुसले अहिलेसम्मकै आर्थिक वृद्धि गरेको छ,’ पुटिनले भने, ‘यसअघिका अन्य कुनै पनि राष्ट्रपतिले पाँच वर्ष्भित्र आर्थिक वृद्धिदर दोहोरो बनाएको जस्तो लाग्दैन ।’

रुसी जनता दंग
अमेरिकी टेलिभिजन संस्था एनबिसीलाई आइतबार दिएको अन्तर्वार्तामा रुसी राष्ट्रपति पुटिनले अर्थतन्त्र दरिलो बनेका कारण जनता धेरै खुसी भएको दाबी गरेका छन् ।

‘हामीले भन्नुभन्दा पनि जनताले हाम्रो शासन मन पराएका छन् । उनीहरूले स्पष्ट रूपमा आर्थिक वृद्धि र विकास भएको अनुभव गरेका छन्,’ आफ्नो कार्यकालको व्याख्या गर्दै पुटिनले भने, ‘कुनै पनि देशको आर्थिक विकासको मूल्यांकन जनताले नै गर्छन्, त्यो रुसी जनताले गरेका छन् ।’

गरिबीको रेखा तल
अर्थतन्त्रमा अभूतपूर्व रूपमा परिवर्तन भएपछि रुसमा गरिबीको रेखामुनि रहेको जनसंख्या पनि घटेको उनले दाबी गरेका छन् । ‘देशमा उल्लेखनीय रूपमा आर्थिक विकास जारी नै छ, यसले हाम्रो गरिबी पनि आधा कम गरेको छ,’ उनले भने, ‘अबको केही वर्षमा हामी यसलाई अझै तल झार्ने प्रयास गर्नेछौँ ।’

धनी र गरिबबीचको अन्तर कम
राष्ट्रपति पुटिनले रुसमा केही वर्ष्भित्र नै धनी र गरिबबीचको रेखा पनि पातलिने जनाएका छन् । यसका लागि रसियन जनताको हात महत्वपूर्ण हुने उनी बताउँछन् ।

‘मेरो अर्को लक्ष्य भनेको रुसमा धनी र गरिबबीचको अन्तरलाई कम पार्नु हो, यसको कार्यक्रम मैले सुरु गरिसकेको छु,’ उनले भने, ‘मेरो यस योजनामा जनताको साथ चाहिन्छ ।’