पपुवान्युगिनीसँग प्रतिष्पर्धा गर्दै नेपाल

588
views

काठमाण्डौ, १ चैत । एकदिवसीय मान्यताप्राप्त गर्न पहिलो खुड्किलोका रूपमा नेपालले पपुवान्युगिनीविरुद्ध बिहीबार जिम्बावेको हरारियन मैदानमा प्रतिस्पर्धा गर्नेछ । पपुवा न्युगिनीसँग पराजित हुँदा नेपालको एकदिवसीय मान्यता पाउने सबै ढोका बन्द हुनेछन् । जितले नेपालको सम्भावना यथावत् रहनेछ ।

सुपर सिक्समा पुग्न नसकेका चार टोलीबीच सातौँ स्थानका लागि भिडन्त भइरहँदा हङकङले नेदरल्यान्डको सामना गर्नेछ ।

एक राष्ट्रले मात्र पाउने
एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा एसोसिएट राष्ट्र स्कटल्यान्ड र युएई पुगेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले तीन एसोसिएट राष्ट्रलाई चार वर्ष (२०२२) सम्म अस्थायी एकदिवसीय मान्यता प्रदान गर्नेछ ।

यस समीकरणअनुसार सुपर सिक्समा पुगेका स्कटल्यान्ड र युएईले चार वर्षका लागि मान्यता पाइसकेका छन् । आइसिसी विश्व क्रिकेट लिगको विजेताका रूपमा नेदरल्यान्डले एकदिवसीय मान्यता पाइसक्यो ।

हङकङसँग पराजित हुँदा नेदरल्यान्डको स्टाटसमा परिवर्तन हुनेछैन । मूलतः पपुवा न्युगिनी, नेपाल र हङकङबीच मात्र एकदिवसीयका लागि प्रतिस्पर्धा हो । नेदरल्यान्डबाहेक पराजित हुने टोलीहरू सीधै डिभिजन–२ मा झर्नेछन् ।

नेपाललाई ब्याटिङकै डर
विश्वकप छनोटमा कप्तान पारस खड्काबाहेक अन्य ब्याट्सम्यानले सोचेअनुरूप प्रदर्शन गर्न सकेका छैनन् । पारसले प्रतियोगितामा चार खेलबाट १ सय ८९ रन जोडेका छन् । प्रतियोगिताको सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पारस सातौँ स्थानमा छन् ।

उनीभन्दा एक स्थान तल वेस्टइन्डिजका धुरन्धर ब्याट्सम्यान क्रिस गेल छन् । बढी रन बनाउने सूचीमा पारसपछि रोहितकुमार पौडेलले प्रतिनिधित्व गरेका छन् । रोहितले चार खेलमा ९४ रन बनाएका छन् । उनी ३४औँ स्थानमा छन् ।

रोहित र पारसबाहेक अन्य ब्याट्सम्यान रनका लागि संघर्षरत देखिन्छन् । नेपालका ओपनर चल्न सकेका छैनन् । ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले चार खेलबाट ६८ रन मात्र बटुलेका छन् । पपुवा न्युगिनीविरुद्ध चुनौती दिन नेपालका अन्य ब्याट्सम्यान चल्नुपर्ने आवश्यकता छ ।

यता, बलिङमा नेपाली बलरको औसत प्रदर्शन रह्यो । सन्दीप लामिछानेले चार खेलमा ७ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको १३ औँ स्थानमा छन् ।