आन्दोलनको मूल प्रवाहबाट विभाजित शक्ति समुहलाई एकतामा आउन प्रचण्डको आग्रह

693
views

काठमाण्डौ, १ चैत । आन्दोलनको मुलप्रवाहबाट विभाजित समुह र शक्तिमा रहेका कम्युनिष्टहरुलाई एकतामा आउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताको भावना र चाहना अनुसार एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन् । उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे ।

अध्यक्ष दाहालले भने, “शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।” उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअ‍ेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि उनले दिलाए । कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।