बलेवा एयरर्पोटमा परिक्षण उडान, २६ बर्षपछि जहाज

1108
views

पर्वत । २६ बर्षदेखि बन्द भएको बागलुङको बलेवा बिमानस्थलमा सोमबार आज परिक्षण उडान गरिएको छ । यो उडानको विषयले यस क्षेत्रको बिकासमा नयाँ ढोका खुलेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले पहिलो पटक तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाज बागलुङको बलेवा एयरपोर्टमा अवतरण गरेको हो । बागलुङ नगरपालिकाको अगुवाईमा दुई महिना अघिदेखि थालिएको तयारी स्वरुप जहाज आएको हो ।

एयरपोर्टमा २६ बर्षपछि भएको पहिलो उडान हेर्न यहाँका हजारौं मानिस बिमानस्थल वरपर झुम्मिएका थिए । उडानमा आएका पाईलट र प्राविधिकलाई स्थानीयले फूलमालाले स्वागत पनि गरेका थिए ।

चैत ९ गते देखि यात्रीका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमति अनुसार सोमबार परीक्षण गरिएको प्राधिकरणका पोखरा स्थित निर्देशक भोलाप्रसाद गुरागाईंले बताए । पहिलो उडानका क्रममा पाईलटहरु सन्तोष शाह, प्रभाकर घिमिरे र संजीव श्रेष्ठ तथा कोपाईलट सिर्जना हुमागाईंलगायतको टोली आएका थिए ।

चालक शाहका अनुसार बलेवादेखि काठमाडौंस्थित त्रिभूवन बिमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ । २०१८ सालमा निर्माण भएपछि नियमित संचालन भएको बिमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्ग खुलेपछि जहाज आउन छाडेको थियो ।