फेसबुकका संस्थापक जुकरबर्गले स्विकारे गल्ती

871
views

एजेन्सी न्युयोर्क, ९ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले एक राजनीतिक परामर्शदाता कम्पनीले लाखौँ फेसबुक प्रयोगकर्ताको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गम्भीर गल्ती भएको स्वीकार गरेका छन् ।

राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालाइटिकले राजनीतिक लाभ लिने उद्देश्यले अनुचित ढंगले फेसबुक प्रयोगकर्ताको विवरण उपयोग गरेको आरोप लाग्दै आएको छ । एक विज्ञप्ति जारी गर्दै जुकरबर्गले क्याम्ब्रिज एनालाइटिकले विश्वासघात गरेको आरोप लगाए । धूर्त एप्सविरुद्ध कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

क्याम्ब्रिज एनालिटिकले अनाधीकृत रूपमा पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरण संकलन गरेको थियो । ती विवरण सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सघाउन प्रयोग गरिएको थियो ।

यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिन सक्ने विषयलाई कडाइ गर्ने जुकरबर्गले प्रतिबद्धता जनाएका छन् । ‘तपाईंहरूको तथ्यांक रक्षा गर्नु हाम्रो दायित्व हो । हामीले तथ्यांक रक्षा गर्न सकेनौँ भने तपाईंहरूलाई सेवा गर्न अयोग्य ठहरिनेछौँ,’ जुकरबर्गले भनेका छन् ।

भविष्यमा फेसबुकका प्रयोगकर्ताको तथ्यांक दुरुपयोग नहुने बताउँदै उनले अगाडि भनेका छन्, ‘नयाँ एपले विगतमा जस्तो प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गर्नेछैन । तितो अनुभवबाट पाठ सिक्दै भविष्यमा हाम्रो समुदायलाई अझै बढी सुरक्षित बनाउनेछौँ ।’ प्रयोगकर्ताको विवरण संरक्षण गर्ने जिम्मा आफ्नो भएको स्विकार्दै फेसबुकमा भएका जुनसुकै गल्तीका लागि आफू जिम्मेवार भएको उनले बताए ।