डीपीएल क्रिकेट सुरुः धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा

619
views

धनगढी, १७ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा भएको प्रतियोगितामा ६ टिम सहभागी छन् ।

प्रतियोगिताको पहिलो खेलमा साविक विजेता धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भएको छ । डिपिएल दोस्रो संस्करणको पूर्वसन्ध्यामा हिजो विजेताले पाउने ट्रफि सार्वजनिक गरिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र ६ वटै टिमका कप्तानले संयुक्त रुपमा ट्रफि सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सहभागी साविक विजेता टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने कञ्चनपुर युनाइटेडको टोली विनोद भण्डारीको नेतृत्वमा छ ।

त्यस्तै सिवाईसी अत्तरियाका सुवास खकुरेलले कप्तानको रुपमा नेतृत्व प्रदान गर्ने छन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व लिएका छन् ।

यसैगरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विराटनगर किङ्सको नेतृत्व गर्दै छन् । चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।