प्रधानमन्त्रीको भारत भ्रमणः आर्थिक विकासको मुख्य कार्यसूची

679
views

काठमाण्डौ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ ।

भ्रमणमा भारतसँग नेपालको सम्बन्धलाई सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवम् क्षेत्र पहिल्याउनमै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एक जना वरिष्ठ सदस्यले बताएका छन् ।

कूटनीतिक मामिलाका समाचार सम्प्रेषणमा सक्रिय केही चुनिएका पत्रकारहरूसँग आइतबार अपराह्न अनौपचारिक कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लाग्नुभएको बताए ।

नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने पनि परराष्ट्रमन्त्रीले जानकारी दिए ।

उनले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको स्पष्ट गरे ।