पार्टी एकता गर्न हतार छैन्–ओली

783
views

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले–माओवादीबिचको पार्टी एकतामा हतार नगर्ने बताएका छन् । ओलीले एमाले र माओवादी केन्द्रकाबिच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताउँदै पार्टी एकता गर्न हतार नगर्ने बताए ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सोमबार पार्टीको केन्द्रीय कार्यालय धूमबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, ‘‘हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।’’

कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि र ५० हजार ५५५ रहेको छ । यस वर्षको सो पुरस्कारको राशिको सौजन्य एमाले निकट प्रवासी नेपाली मञ्च, कतारले गरेको हो । पुरस्कारका लागि विभागले र १० लाखको अक्षयकोष खडा गरेको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुन् । कोइरालाले प्राप्त गरेको पुरस्कारको राशि द्वन्द्वकालमा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।