अल्टरइगोः आत्माको आवाज सुन्न सकिने हेडसेट

1724
views

एजेन्सी, २६, चैत । अनुसन्धानकर्ताहरु एउटा यस्तो यन्त्र बनाउन सफल भएका छन्, जसले तपाईंको आत्माको आवाज सुन्न सक्छ । छक्क नपर्नुहोला, यो हेड सेट लगाएपछि तपाईंको मनभित्रको कुरा बुझ्न मुख खोलिराख्नै पर्दैन तर मनमनै भने तपाईंले ती शब्द उच्चारण गर्नुपर्ने हुन्छ ।

कतिसम्म भने तपाईं नबोलिकनै त्यो यन्त्रलाई नियन्त्रण गर्न र प्रश्नहरु सोध्न सक्नुहुन्छ । अल्टरइगो नाम दिइएको यो यन्त्रले छालामा लगाइएको इलेक्ट्रोड्सको सहयोगले तपाईंले आवाज ननिकाली उच्चारण गरेका शब्दहरु लिपिबद्ध गर्न सक्दछ ।

‘हामी त्यस्तो कम्प्युटिङ प्लाटफर्म निर्माण गर्न चाहन्थ्यौँ, जसले मानिस र यन्त्रलाई त्यसरी मिलाइदियोस्, मानौँ, त्यो आफ्नै अनुभूतिजस्तो महसुस होस्,’ एमआइटीको मिडिया ल्याबमा यो यन्त्रको विकास गर्ने कामको नेतृत्व गरेका अरनब कपुर भन्छन् ।

यो हेडसेट एक प्रकारको ‘इन्टेलिजेन्स अगुमेन्टेसन’ अर्थात् आइए डिभाइस भएको बताउँछन्। कानको पछाडिपट्टिबाट अड्याएर यसलाई बंगारा र चिउँडोमा लगाइन्छ ।

सेतो प्लास्टिकभित्र रहेको चार ओटा इलेक्ट्रोड्स छालामा टाँसिन्छ, जसले स्नायुमांसपेशीबाट सूक्ष्म संकेत लिन्छ । तपाईंले मनमनै कुनै पनि शब्द उच्चारण गर्दा मांशपेसीमा यस्तो संकेत उत्पन्न हुनेगर्छ । जब कुनै व्यक्तिले मनमनै कुनै शब्द उच्चारण गर्दछ सो यन्त्रमा भएको आर्टि्फिसियल इन्टेलिजेन्सले ती शब्द संकेतलाई कम्प्युटरमा पठाउन सक्छ ।

त्यसपछि कम्प्युटरले बोन कन्डक्सन स्पिकरको माध्यमबाट प्रतिक्रिया दिनसक्छ। यसो गर्दा यो यन्त्र लगाएको मानिसले इयरफोन लगाउनु पर्दैन । फलस्वरुप ऊ बाहिरी आवाज पनि सुन्न सक्दछ । यसो गर्दा मान्छे र अल्टर इगो दुवैले कुनै पनि बाहिरी आवाज उत्पन्न नगरी आपसमा बोल्न र सुन्न सक्दछन् ।

‘हामी आफ्नो सेलफोन वा डिजिटल डिभाइसबिना बाँच्न नसक्ने भएका छौँ। तर तिनले ध्यान हटाइदिन्छन्,’ एमआइटीकी प्राध्यापक प्याटी माइस भन्छिन् । ‘कुराकानी गर्दागर्दै त्यसैसम्बन्धी कुनै कुरा मैले हेर्नुर्पयो भने पहिले फोन झिक्नर्पयो, पासकोड टाइप गरेर कुनै एप खोल्नुर्पयो र सर्च गर्न शब्द टाइप गर्नुर्पयो । यी सारा गर्दा मेरो ध्यान भइरहेको कुराकानीबाट हट्न पुग्छ ।’

माइस र कपुरसहितका उनका विद्यार्थीहरुले दैनिक जीवनमा स्मार्टफोनले जस्तो अवरोध सिर्जना नगरी प्रयोग गर्न मिल्ने उपकरणबारे प्रयोग गरिरहेका थिए ।

१० जनामा १५ मिनेटका दरले गरिएको प्रयोगमा अल्टरइगोले औसत ९२ प्रतिशत सही ट्रान्सक्राइब गर्न सफल भएको थियो । गुगलको भ्वाइस ट्रान्सक्रिप्सनले भने ९५ प्रतिशतभन्दा बढी सही ट्रान्सक्राइब गर्न सक्छ। यद्यपि समय बित्दै जाँदा अल्टरइगोको क्षमता वृद्धि हुने कपुर बताउँछन् । कपुर र उनको टोली अहिले अल्टर इगोले अझ बढी शब्दहरु पत्ता लगाउन सकोस् भनेर तथ्यांक संकलन गरिरहेका छन् ।

यसको विकासको उद्देश्य भनेको गुगलको असिस्टेन्ट, अमेजनको एलेक्सा अथवा एप्पलको सिरीजस्ता एआइ सहयोगीहरुसँगको अन्तक्रिया सहज बनाउनु हो । यसको एउटै अप्ठ्यारो भनेको प्रयोगकर्ताले अनुहारमा टाँसिएको डिभाइस लगाउनै पर्छ । तर विज्ञहरुले यो प्रविधिमा ठूलो सम्भावना रहेको बताएका छन् । यसलाई व्यक्तिगत, औद्योगिक, प्रेसदेखि लिएर सैन्य प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन् ।