प्रधानमन्त्री ओलीको कार्यशैलीबाट माओवादी मन्त्री असन्तुष्ट, दाहाललाई ब्रिफिङ

735
views

काठमाण्डौ । ओली नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलै नगरी एकलौटी रुपमा सचिव सरुवा गरेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल समक्ष असन्तुष्टि पोखेका छन् ।

आज पार्टी अध्यक्षको निवास खुमलटारमा भएको बैठकमा पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरूले ओलीको कार्यशैलीप्रति दाहाल समक्ष ब्रिफिङ गर्दै भने प्रधानमन्त्रीले अन्धाधुन्द सचिव सरुवा गर्दा काम गर्न समेत अप्ठ्यारो स्थिति बनेको छ ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वन मन्त्री शक्ति बस्नेतसहित माओवादीका मन्त्रीहरु सहभागी थिए । आफ्नै मन्त्रालयका सचिवको सरुवापछि त झन उनीहरुले आक्रोष व्यक्त गरेका छन् ।

पार्टी प्रवक्ता पम्फा भुषालले राजनीतिक सहमतिमै सचिव सरुवा गरेको भए राम्रो हुने कुरा मन्त्रीहरुले अध्यक्षलाइ अवगत गराएको जानकारी दिइन्। ‘मन्त्रिपरिषदमा छलफल नगरी सचिव सरुवा गरिएकोमा मन्त्रीहरुको गुनासो रह्यो’, उनले भनिन्, ‘राजनीतिक सहमतिमा सरुवा गरिएको भए उपयुक्त हुने धारणा उहाँहरुले राख्नुभयो ।’