पत्नीको सहमतिबेगर राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने ठहर

1539
views

एजेन्सी अहमदाबाद, २९ चैत । पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने भारत गुजरातको उच्च न्यायालयले ठहर गरेको छ ।

पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने अदालतले ठहर गरेको हो । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो ।

पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने न्यायाधीश जेबी पर्दिवालाले बताए । सो धारामा बलात्कारबारे व्याख्या गरिएको छ । महिलाले आफ्ना श्रीमान्लाई बलात्कारविरुद्ध अभियोग लगाउन सक्ने कानुन सक्रिय नभएको उनको भनाइ छ ।

वैवाहिक बलात्कारबारे विश्वभर भएका कानुनी व्यवस्थाबारे चर्चा गर्दै व्यवस्थापिका संसद्ले वैवाहिक बलात्कारलाई अपराध मान्नुपर्ने उनले बताए । आइपिसीको खण्ड ३७७ बमोजिम कुनै पनि पत्नीले आफ्ना पतिको अस्वाभाविक सेक्सविरुद्ध आपराधिक कारबाहीविरुद्ध मुद्दा चलाउन सक्ने उच्च न्यायालयले जनाएको छ ।