आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर, राजनीतिक संक्रमणकालको अन्त्य-ओली

994
views

मुगु, १, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउँदै राजनीतिक सक्रमणकालको अन्त्य भएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको र गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार भएको दाबी गर्नुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको नेपाल बनाउने ठोकुवा गर्दै भन्नुभयो ‘हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’

प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तरािष्ट्रय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताउनुभयो ।

प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।