मध्य बाग्लुङको दरमखोला जलविद्युत् निर्माण सुरू

2229
views

बाग्लुङ, ४, बैशाख । मध्य बाग्लुङको दरमखोलामा साढे नौ मेगावाटको गलकोट दरमखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । दरमखोला हाइड्रो इनर्जी कम्पनी प्रालिले स्थानीय रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडको सहकार्यमा आयोजनाको निर्माण काम शुरु गरेको हो ।

उक्त आयोजना २०७६ भित्रै निर्माण सम्पन्न गर्नेगरी ठेक्का प्रक्रिया पूरा गरी भौतिक संरचना निर्माणको काम सुरु गरिएको आयोजनाका इन्जिनियर विकास श्रेष्ठले बताउनुभयो । करिब एक अर्ब ५० करोड रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट ९.६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजना निर्माणका लागि दरमखोला हाइड्रो इनर्जी प्रालिको ८० प्रतिशत सेयर र सहकारीको २० प्रतिशत सेयर रहनेछ । सहकारीमार्फत ठूलो रकम सङ्कलन गरेर जलविद्युत् आयोजना निर्माण गर्न केही समस्या भएकाले सहकारी आबद्ध व्यक्तिहरूको अग्रसरतामा कम्पनी स्थापना गरेर आयोजना निर्माणको काम सुरु गरिएको गलकोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीसले बताउनुभयो ।

साढे एक वर्षकै अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र विद्युत् विकास विभागसँग निर्माण अनुमति लिएर काम सुरु गरेको आयोजनाका सदस्य डिलबहादुर बुढाथोकीले बताउनुभयो ।

गलकोट नगरपालिकाको हटियास्थित दरमखोला र गौदी खोलाको सङ्गमस्थलमा बाँध र मल्मको बामियाँमा पावरहाउस निर्माण गर्नेगरी काम सुरु गरिएको छ । मध्यपहाडी लोकमार्गमा नियमित सडक सञ्चालन हुन थालेपछि बढ्दो सहरीकरण, ढुवानीमा सहजता आउने भएकाले समयमै आयोजना सम्पन्न गर्न सकिने आयोजनाले जनाएको छ ।