‘रोहिंग्या महिलामाथिको बलात्कार आरोप आधारहीन’

1827
views

काठमाडौं १९ बैशाख । म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको रखाइन राज्यका अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध यौनजन्य अपराध गरेको आरोप अस्वीकार गरेका छन् । राजधानी न्यापितमा राष्ट्रसंघको सुरक्षा परिषद्का प्रनिनिधिहरूलाई सम्बोधनका क्रममा सेना प्रमुख मिन आङ हानिङले सो आरोप अस्वीकार गरेका हुन् । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी निकायले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा रखाइन प्रान्तमा सेनाले रोहिंग्या महिलालाई बलात्कार गरेको आरोप लगाएको थियो ।

म्यानमारबाट भागेर बंगलादेशका विभिन्न शिविरमा शरण लिएका रोहिंग्यालाई स्वदेश फर्काउन उपयुक्त छरछैन भन्नेबारेमा अनुसन्धान गर्न पुगेको राष्ट्रसंघको प्रतिनिधिमण्डल अहिले म्यानमारको भ्रमणमा छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्अन्तर्गतको सो प्रतिनिधिमण्डलले रखाइन प्रान्तमा सुरक्षा अवस्थाबारे अध्ययन गरेको छ ।

म्यानमारमा सैनिक दमनका कारण देश छोडेर भाग्न बाध्य झन्डै १० लाख रोहिंग्या बंगलादेशको कोक्स बजारमा शरण लिइरहेका छन् । अगस्टमा बल्झिएको हिंसापछि दुई महिनामा मात्र करिब सात लाख रोहिंग्या मुसलमान भागेर बंगलादेश पुगेका थिए । त्यसपछि पनि रोहिंग्या मुसलमान देश छोडेर भाग्ने क्रम जारी छ ।

दुई महिनाअघि राष्ट्रसंघको मानवअधिकारवादीहरूको समूहले तयार पारेको प्रतिवेदनमा म्यानमारको रखाइन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको जनाइएको थियो । सोही कारण दर्साउँदै रोहिंग्या शरणार्थीले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् । म्यानमार सरकारले शरणार्थीलाई घर फर्किन कुनै अवरोध नभएको बताए पनि आफूहरूलाई सुरक्षा चुनौती कायमै रहेको रोहिंग्याहरूले बताउँदै आएका छन् । नयाँ पत्रिका