इन्धनको मूल्य बढ्यो, ग्यास र हवाईको यथावत

676
views

काठमाडौं २० बैशाख । आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।’

गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३र३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०र९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।

निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।

आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।