फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध

622
views

बीबीसी । मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ । प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए । फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ । शुक्रवार टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भने ‘यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए ।’

प्रहसन
सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक(एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए । जबक वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका ’बेल्ट’हरू विस्फोट गराएका थिए ।

प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई ’लज्जाजनक’ भनेका छन् । ओलान्दले थपे, “ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ ।“

’अभद्र’
तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ’अभद्र र अक्षम । योभन्दा बढी म के भन्न सक्छु र ?’ हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो । न्याशनल राइफल एशोसियसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई ’युद्धक्षेत्र’सँग तुलना गरे ।