ब्रेक थ्रुपछि मेलम्चीको काममा फेरि ढिलाई

665
views

काठमाडौँ २७, बैशाख । मेलम्ची खानेपानी आयोजनाको बाँकी काममा पुनः ढिलासुस्ती भएको छ । मेलम्चीमा आरसीसी ढलान, भेन्टिलेसन, हेडबक्सको इन्टेक, बाँध तथा पानी थिग्रयाउने स्थानलगायतका कामको सुरुवात अझै भएको छैन ।

निर्माण कम्पनीले दैनिक काममा ढिलासुस्ती गरिरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङको ब्रेकथूु नहुँदै ३.७ किमी ढलान गरिएको थियो । अहिले पनि ढलानको परिणाम उत्ति नै छ । एक महिनाको अवधिमा ४८ मिटर सुरुङ मात्र ढलान भएको छ । १५ मिटर जक्सन खनेको छ । त्योबाहेक अन्य काम नभएको समितिले जनाएको छ ।

काममा ढिलासुस्ती हुँदा तोकिएको समयमा मेलम्ची आउन नसक्ने हो कि भन्ने कुरामा समिति संवेदनशील भएर बैठक राखिएको र सम्झौता अनुसार काम अघि बढाउन पहल भएको समितिका सूचना अधिकार राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।
मेलम्चीदेखि सुन्दरीजलसम्मको २६ किमी सुरुङ खन्ने काम चैत २९ गते सम्पन्न भएको थियो । सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो ।

चिनियाँ निर्माण कम्पनी सीसीआसीले करिब तिन वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको थियो । सन् २०१२ सेप्टेम्बरमा सो निर्माण कम्पनीसँग सम्झौता खारेज गरिएको थियो । नयाँ निर्माण कम्पनी सीएमसी डी–रेभेना इटालीले २०१४ को जनवरीबाट निर्माण कार्य सुरु भएको थियो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको समितिले जनाएको छ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सुरु भए पनि याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ ।