सुन प्रकरणः गोरेको बयानले नयाँ तरंग

1062
views

विराटनगर, ११, जेठ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिने काम जारी छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा हिंजो विहिबार पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । विहिवार बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रहँदा उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ ।
स्रोतका अनुसार बयानमा गोरेले यो प्रकरणमा ‘उच्च तहका व्यक्तिहरू’ को पनि नाम जोड्न सक्ने भन्दै उनलाई कडा सुरक्षामा राखिएको हो । तत्कालका लागि बयान पनि अत्यन्त गोप्य र सुरक्षित राखिने स्रोतले जनाएको छ ।

मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आफु असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।